सिन्धुली/मरिण गाउँपालिका सिन्धुलीले गाउँपालिका भित्रका विद्यालयमा लागु हुने गरि स्थानीय स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । शैक्षिक स्तर गुणस्तरीय तथा प्रभावकारी रुपमा संचालन गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।
जसका लागि सोमबार सिन्धुलीमाढीमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि कार्यशाला गरिएको छ । कार्यशालामा आएका सुझावलाई मध्येनजर गर्दै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न प्रक्रिया थाल्ने भएको छ । तत्कालै गाउँपालिकामा शिक्षा समितीको बैठक बसेर आवश्यक तयारी पुरा गरी पाठ्यक्रम निर्माण गरिने अध्यक्ष पानीराज बम्जनले जानकारी दिए । कार्यशालामा गाउँपालिका शिक्षा समितीका पदाधिकारीहरु तथा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्याशालामा विज्ञहरुले दिएको सुझाव र कानुनी मान्यतामा रहेर पाठ्यक्रम तयार गरिने गाउँपालिकाले जनाएको छ । प्लान नेपाल र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीसँगको साझेदारीमा गरिएको कार्यशालामा शिक्षाविद डा.हरिप्रसाद पोखरेलले पाठ्यक्रम निर्माणमा विद्यमान नीतिगत व्यवस्था र प्रयोगको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यशालामा कमलामाई नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सागर कुमार ढकालले स्थानीय पाठ्यक्रममा समावेश गरिनु आवश्यक रहेका विषयवस्तुका बारेमा प्रष्ट पारे । उनले स्थानीय रुपमा रहेका ऐतिहासिक धरोहर तथा स्थानीय स्तरका बारेमा विद्यार्थिलाई पाठ्यक्रम मार्फत नै बुझाउन आवश्यक रहेको बताए । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख डम्वरध्वज आङ्देम्बेले स्थानीय पाठ्यक्रम निर्माणका सम्बन्धमा आवश्यक पर्ने तत्वहरु लगाएतको बारेमा जानकारी गराए ।




















