बैतडी । मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले सुत्केरी महिलालाई सरसफाई सामग्री सहित घ्यु र अण्डा दिने छ ।
सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन यस्तो कार्यक्रम ल्याईएको नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए । उक्त कार्यक्रम अन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत उक्त कार्यक्रम लागू भएको हो ।
उपप्रमुखको कोशेली प्राप्त गर्न महिलाले चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भए पश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने छ ।
सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्री सहितको झोला उपप्रमुखको तर्फबाट सुत्केरी महिलालाई प्रदान गरिने छ ।
इन्टरनेट खबरबाट




















