सिन्धुली । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिन्धुलीमा इतिहासकै सबैभन्दा ठूलो मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले वीमित स्व. भीमबहादुर कार्कीकी श्रीमती ज्ञानु कार्कीलाई एकमुष्ट रकम ५१ लाख ६२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । आइतबार सिन्धुलीमाढीमा एक औपचारिक कार्यक्रमको आयोजनामा कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले उक्त चेक रकम हस्तान्तरण गरेका हुन् ।
गत कत्तिक १९ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएका स्व. कार्कीले सुरक्षित जीवन वीमा अन्तर्गत २५ लाख रकम बराबरको बीमा गराएको कम्पनीले जनाएको छ । कार्कीको वीमालेख नेपाल लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर बेल बहादुर बसेलले २०७५ साउन १४ गते गरिदिएका थिए । कार्कीले बीमाङ्कको प्रथम किस्ता वापत १ लाख चौरासी हजार ६ सय ४० रुपैँया कम्पनीलाई बुझाएका थिए ।
जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. २ स्थित वि.पी. राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका कार्की लाई कम्पनीले बीमाङ्क रकम वापतको २५ लाख, दुर्घटना मृत्यु लाभ वापतको २५ लाख र वोनस रकम १ लाख ६२ हजार ५ सय रुपैँया गरी एकमुष्ट रकम रु. ५१ लाख ६२ हजार ५ सय रुपैँया हस्तान्तरण गरेको नेपाल लाईफ इन्स्योरेन्स सिन्धुली उपशाखाका प्रमुख राजेश लुइटेलले जानकारी दिए ।
हालसम्म नेपाल लाईफ इन्स्योरेन्स सिन्धुली उपशाखाले मृत्यु दावी वापत दुर्गा कुमारी खड्काको परिवारलाई १० लाख ३६ हजार रुपैयाँ, रिता कुमारी कुमरको परिवारलाई रु.११ लाख ५५ हजार ५ सय ३४ रुपैयाँ, बुद्धिमान विशंखेको परिवारलाई १० लाख रुपैयाँ, डुँडेल कुमार श्रेष्ठको परिवारलाई १ लाख ४९ हजार ८ सय रुपैँया लगायत सात जनाको परिवारलाई मृत्यु दावी वापतको रकम हस्तान्तरण गरिसकेको उपशाखा प्रमुख लुइटेलको भनाई छ ।
भोलिको सुरक्षा र बचतका लागि वीमा आवश्यक : खत्री
चेक हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथी खड्गबहादुर खत्रीले आजको वचत र भोलिको सुरक्षाका लागि वीमा आवश्यक रहेको बताए । नेपाल लाइफले घटना घट्नेबित्तिकै राहत वा दावीबमोजिको रकम हस्तान्तरण गर्ने गरेको इतिहास आफूले पनि नियालिरहेको बताउँदै नगरप्रमुख खत्रीले कम्पनी आफ्ना गतिविधीहरु स्पष्ट रुपमा देखाउन सफल भएको बताए ।
राहत रकमले सधैँको लागि नपुग्ने भएपनि भविष्यको पीढिलाई अगाडी बढाउन सहयोग गर्नेमा आफू निश्चिन्त रहेको उनको भनाई थियो । सिन्धुलीका ठूला कृषक रहेका कार्कीको निधनले जिल्लालाई अपुरणीय क्षति पुगेको सन्दर्भमा यो रकमले फेरि आफ्नो व्यावसायलाई अगाडि बढाउन टेवा पु¥याउने उनको विश्वास रहेको छ । जन्म र मृत्यु प्राकृतिक कुरा रहेको बताउँदै खत्रीले शोकलाई शक्तिमा बदलेर अगाडी बढ्न मृतकको परिवारजनलाई आग्रह समेत गरे ।
वीमाको फाइदा ; बाँच्दा आफूलाई, मरेर जाँदा परिवारलाई : बसेल
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर बेल बहादुर बसेलले बीमा गर्दा बाँचुन्जेल आफूलाई फाइदा र मरेर जाँदा परिवारलाई फाइदा हुने बताए । मृत्यु वा शोकलाई पैसामा तुलना गर्न नसकिने भएतापनि परिवारको जीविकोपार्जनलाई वीमाङ्क वापतको रकमले सहज बनाउने उनको भनाई छ ।
आफूहरुको मूख्य ध्यान नैे कसरी छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रदान गर्न सकिन्छ, भन्नेमा रहेको बताउँदै उनले यो रकम पनि परिवारले कागजपत्र पेश गरेको ७ दिन नबित्तै भुक्तानि गरिएको बताए । गत असारमा दिवंगत कार्कीलाई आफूले नै वीमा गर्ने सल्लाह दिएको र सोही सल्लाहबमोजिम साउनले उनले वीमा गरेको बसेलको भनाई छ ।
वीमाको महत्वलाई अझै पनि सबै जनतालाई बुझाउन नसकिएको र वीमा कम्पनीहरुलाई कतिपय स्थानहरुमा अझै पनि नकारात्मक रुपले हेर्ने अवस्था विद्यमान रहेको नेपालको अवस्थामा नेपाल लाइफ त्यो जग भत्काउन एउटा गतिलो उदाहरण सावित भएको उनको भनाइ छ ।
नेपाल लाईफ इन्स्योरेन्स सिन्धुली उपशाखाका प्रमुख राजेश लुइटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरु, नेपाल लाइफका अभिकर्ताहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन एवं सहजीकरण एजेन्सी म्यानेजर उमेश कोइरालाले गरेका थिए ।





















