सिन्धुली । ‘पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा’ भन्ने नाराका साथ मंसिर १५ गतेबाट सुरु भएको सिन्धुली कप खुल्ला भलिवल प्रतियोगिताको उपाधि ब्लु अल्पाईन क्लबले हात पारेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा वर्द बहादुर गणलाई ३ वटै सेटमा हराउँदै क्लबले पहिलो स्थान हात पारेको हो ।
ब्लु अल्पाईनले बर्दबहादुर गणलाई २५–२०, २५–१५ र २५–१३ को सेट अन्तरमा पराजित गरेको हो । क्लबले उपाधि हात पारेसँगै एकलाख नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टिम वर्द बहादुर गणले ४० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै बेष्ट प्लेयर ब्लु अल्पाईनका योगेन्द्र गुरुङ, बेष्ट स्पाइकर फिक्कल क्लवका सनिप श्रेष्ठ, बेष्ट सेटर ब्लु अल्पाईन क्लवबका सुजन दोखाल र बेष्ट ब्लकर बर्दबहादुर गणका सुरेश खड्काले जितेका छन । जिल्ला युवा व्यवसायी क्लवको आयोजना तथा कमलामाई नगरपालिकाको सहयोगमा भएको यो खेल जिल्लाको अहिलेसम्मको ठुलो राशीको भलिवल खेल हो ।
खेल सकिएसँगै औपचारिक कार्यक्रमको आयोजना गरि मंगलबार नै पुरस्कार वितरण गरिएको छ । जिल्ला युवा व्यवसायी क्लवका अध्यक्ष संजिब सुन्दासको अध्यक्षता एवं कमलामाई नगरपालीकाका मेयर खड्गबहादुर खत्रीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।




















