सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीको छैठौं जिल्ला सम्मेलन शनिबार सिन्धुलीमाढीमा हुँदै छ । अखिल नेपाल महिला संघ सिन्धुलीले नयाँ नेतृत्व चयन समेत गर्ने गरि सम्मेलनको आयोजना गरेको हो ।
अनेमसंघ सिन्धुलीले शुक्रबार साँझ सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको छ । सम्मेलनको उद्घाटन अनेमसंघका केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले गर्ने छिन ।
राजनीतिमा समान सहभागिता, आर्थिक सशक्तिकरण महिला हिंसाको निराकरण भन्ने नाराका साथ सम्पन्न हुने सम्मेलनमा ३ सय ५० जना प्रतिनिधि र पर्यवेक्षक सहभागि हुनेछन । १० हजार सदस्यता रहेको अनेमसंघले जिल्ला नेतृत्व चयनमा सर्वसम्मत वा निर्वाचन दुवै प्रक्रियालाई अवलम्बन गर्न सकिने जनाएको छ ।
अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईले पत्रकार सम्मेलनमा बोल्दै अधिवेशनको खर्च ३ लाखको हाराहारीमा सम्मेलन खर्च लाग्नेबताईन । उनले आर्थिक श्रोतको समेत व्यवस्थापन भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन ।
पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्लाका ७९ वटा वडाबाट सम्मेलनका लागि प्रतिनिधि सर्वसम्मत छनौट भईसकेका र शनिबार सम्मेलनमा सहभागि हुने जानकारी दिईन । यस्तै संगठनले पार्टी नेतृत्वसँग बसेर नेतृत्व चयन र सम्मेलनको बारेमा छलफल समेत गरेको छ । पत्रकार सम्मेलनमा अनेमसंघले पाँचौ जिल्ला सम्मेलनबाट निर्वाचित कार्यसमितिले गरेका कामहरुको बारेमा समेत जानकारी दिएको छ ।





















